दफा १९क
पदबाट हटाउन सकिने
(१) उपकुलपति वा सेवा आयोगको अध्यक्षले आफ्नो पद अनुसारको दायित्व पूरा गरेको छैन भनी सभाका तत्काल कायम रहेका एक चौथाई सदस्यहरूले कुलपति समक्ष लिखित निवेदन दिएमा कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका दुईजना सदस्यहरू रहेको एक छानबिन समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिले सो सम्बन्धमा आवश्यक छानबिन गरी आफ्नो प्रतिवदेन सभा समक्ष पेश गर्नेछ ।
(३) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदनमा उपकुलपति वा सेवा आयोगको अध्यक्षले आफ्नो पद अनुसारको दायित्व पूरा गरेको छैन भनी सभाको सम्पूर्ण सदस्य संख्याको बहुमतले सिफारिश गरेमा कुलपतिबाट निजलाई हटाइनेछ ।
तर त्यसरी पदबाट हटाउने गरी सिफारिश गर्नु अघि निजहरूलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट बन्चित गरिने छैन ।